आजदेखि सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।
एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
अध्यक्ष प्रचण्डले भलिबल, क्रिकेट, फुटबललगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताए । पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र संविधानअनुसार सरकार चल्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापालगायतले प्रतियोगिताले सुकुटेलगायत सिन्धुपाल्चोक क्षेत्रको पर्यटन विकासमा खेल्ने भूमिकाबारे चर्चा गरेका थिए । प्रतियोगितामा छ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
















