अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ । बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ । प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २२ गोलको बराबरी खेले । त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए । खेलमा नेपालले अधिकांश समय म्यानमारलाई दबाबमा राखेको थियो । आज दुवै टोली खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहनेछ ।
यस्तो छ हेड टु हेड
फिफा वरीयतामा पनि नेपालभन्दा म्यानमार बलियो टोली हो। नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ । नेपाल र म्यानमारको महिला फुटबल टोलीबीच अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ । चारै खेलमा नेपाल जितबिहीन छ। दुई खेल म्यानमारले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
नेपाल र म्यानमारबीच सन् २०१८ मा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । सन् २०२२ को टोकियो ओलम्पिक्सको छनोट खेल खेल्न नेपाल म्यानमार गएको थियो । सो खेल एक एक गोलको बराबरीमा सकियो। नेपालले तेस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाको पेनाल्टी गोलबाट अग्रता लिए पनि म्यानमारले १४ मिनेटमा बराबरी गोल फर्कायो ।
सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपमा नेपाल र म्यानमारले दुई पटक प्रतिस्पर्धा गरे । दुवै खेलमा नेपालले हार ब्यहोर्यो । लिग चरणमा नेपालमाथि म्यानमारले ३-० गोलको जित निकालेको थियो । यद्यपी नेपालले इरान र भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा म्यानमारसँग भिड्दा नेपाल फेरि पराजित भयो ।
नेपालमाथि म्यानमारले फाइनलमा ३-१ गोलको जित निकाल्यो। नेपालका लागि मन्जलीकुमारी योन्जनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए पनि म्यानमारले दोस्रो हाफमा दुई गोल गरेको थियो । चौथो खेल यही प्रतियोगिताको लिग चरणको अन्तिम खेल हो जुन २-२ को बराबरीमा सकिएको थियो । म्यानमारले चार खेलमा नेपालविरूद्ध ९ गोल गरेको छ भने नेपालले ४ गोल गर्न सफल भएको छ ।
















