पूर्व अध्यक्ष थापाद्वारा एन्फा महासचिवविरुद्ध मुद्दा

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राई विरुद्ध अदालतमा पनि गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।

राईले आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहीन आरोप लगाएको भन्दै कानुनी कारबाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको बताएका छन् ।

थापाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ ।’

एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा राईले आफूमाथि रकम हिनामिनाको आरोपसहित मानसिक सन्तुलन गुमाएको जस्तो गम्भीर आरोप पनि लगाएको बताउँदै थापाले त्यसलगत्तै सामाजिक आरोप प्रमाणित गरेर कानुनी कारबाही गर्न चुनौती दिएका थिए । तर राईबाट आत्मालोचना पनि नभएपछि कानुनी बाटो रोजेको उनले बताए ।