राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् । आइतबारको संसद्मा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती पिट्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।
सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन् । त्यसैबीच लिङ्देनले आफूहरु राजावादी भएकाले कारबाही गरेर देखाउन चेतावनी दिए ।
आइतबारको बैठकमा विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण माग गर्दै प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपासहित दलले बैठकको सुरुवातमै उठेर सरकारको जवाफ मागेपछि सदन अवरुद्ध भएको थियो ।
सभामुख देवराज घिमिरेको बारम्बारको आग्रहपछि पनि प्रतिपक्षी सांसदहरुले अवरोध कायम राखेपछि नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सदन सञ्चालन हुनु पर्ने माग गर्दै आवाज उठाएका थिए । सो पछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच करिब १५ मिनेट चर्काचर्की चलेको थियो ।
सांसदहरुबीच थप चर्काचर्की सुरु भएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।














