नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो जतिबेला दिपेश कँडेलले म्याच विनिङ ह्याट्रिक लिएका थिए ।
यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ त्यसकारण अफगानिस्तान पनि नेपालका लागि चुनौतीका रूपमा छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो ।
प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
















