नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए । हङकङका सयान पुरीले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको हङकङले ४६.२ ओभरमा १० विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।
हङकङका शिव माथुरले ११६ बलमा ६३ रन बनाए । आर्या पञ्जवानीले १३ र वीर माथुरले १२ रन जोडे ।
हङकङलाई सस्तैमा समेट्न युवराज खत्रीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले १८ रनमात्र खर्चिए । विपीनप्रसाद शर्माले तीन विकेट लिँदा सन्तोष यादवले दुई विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।
नेपालले शनिबार अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
















