अविरल वर्षाका कारण आएको बाढीले मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङका बिरामीलाई समस्या हुन थालेको छ । जिल्लामा उपचार सम्भव नभएकालाई झापा रिफर गरेर पठाउने गरिएको छ । तर, सडक सञ्जाल नै टुटेपछि बिरामीले सास्ती खेप्न थालेका छन् ।
ताप्लेजुङमा सुविधासम्पन्न अस्पताल नहुँदा थप उपचारका लागि झापा जानुपर्ने बाध्यता छ । तर, सडक सम्पर्क टुछेपछि समस्या थपिएको छ ।
अविरल वर्षाका कारण आएको बाढीले हेवा खोला पुल बगाएपछि बिरामीले दुई वटा एम्बुलेन्सको प्रयोग गरेर बिरामीलाई झापा पु¥याउनुपर्ने बाध्यता आइलागेको छ ।
बिरामीलाई सदरमुकाम फुङलिङबाट हेवाखोलासम्म एउटा एम्बुलेन्समा लैजानुपर्ने र त्यहाँबाट अस्थायी पुलमा बोकेर खोला पार गराएपछि फेरि अर्को एम्बुलेन्समा राखेर झापा पु¥याउनुपर्ने भएको छ ।
एक दुई पटक गरेर भए पनि खुलाइएको डाइभर्सन बाढीले बगाएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुका साथै पेट्रोलियम पदार्थको समेत अभाव हुन थालेको छ ।
यसैबीच खुलाइएको डाईभर्सनबाट केही मालबाहाक ट्रक र ट्यांकर भित्रिए पनि पर्याप्त मात्रामा यस्ता सामाग्रीहरु उपलब्ध हुन सकेको छैन ।
ताप्लेजुङलाई सडक सञ्जालबाट जोड्नका लागि ट्रस ब्रिज बनाउने काम भइरहे पनि काममा ढिलासुस्ती देखिएको छ ।













