सोनापुर मिनरल्सले पायो आईपीओ बिक्रीको अनुमति, प्रतिकित्ता २३७.५८ रुपैयाँ

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्कासन तथा बिक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट बोर्डबाट १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले उक्त सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने छ ।

उसले आफ्ना कर्मचारीका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १२५ रुपैयाँ थप गरी २२५ रुपैयाँका दरले बिक्री गर्ने छ । सर्वसाधारणले भने १३७.५८ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २३७.५८ रुपैयाँ तिर्नुपर्नेछ ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबीएस क्यापिटल हो । उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी सोनापुर मिनरल्स एण्ड आयलले अहिले सोना सिमेन्ट, सोनाली सिमेन्ट, सोनापुर सिमेन्ट, सोनाटेक सिमेन्ट, सोना चाँदी सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

तायाल समूहको लगानी रहेको सोनापुर मिनरल्सले २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो ।