कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना को क्षमता ६४० मेगावाट कायम गरिने भएको छ। प्रारम्भमा ८४४ मेगावाट क्षमताको प्रस्ताव गरिएको आयोजना अध्ययनका क्रममा घटाएर ६४० मेगावाट उपयुक्त ठहर गरिएको हो।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। प्रस्तावित बाँध कालीगण्डकी नदी र सेती नदी को दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी खङ्गकोट क्षेत्रमा निर्माण गरिनेछ, जुन गुल्मी र पर्वत जिल्लाको सीमामा पर्छ। बाँधको उचाइ करिब २४४ मिटर हुने बताइएको छ।
बाँधमा पानी जम्मा भएपछि करिब २९ किलोमिटर लामो ताल खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर, डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेन्ड र वार्षिक विद्युत् उत्पादन करिब १,६४५.६५ गिगावाट घण्टा हुने अनुमान गरिएको छ।
आयोजनाअन्तर्गत चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइन जडान गरिनेछ भने विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर क्षेत्रमा निर्माण प्रस्ताव गरिएको छ।
यस आयोजनाबाट पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका विभिन्न स्थानीय तहका वडाहरू प्रभावित हुनेछन्। सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग तथा परामर्शदाता कम्पनीहरूले गरिरहेका छन्।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडक, कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ।















