रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। केन्द्रीय समितिका ९ कार्यसूची तय गरिएको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको एजेण्डा तय गरेको हो ।

केन्द्रीय समितिको आजको बैठकमा पार्टी गतिविधिबारे ब्रिफिङ हुनेछ । केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन् । बैठकमा करिब २० जना बोल्ने तय भएको छ। उनीहरूलाई २ मिनेट समय दिइएको छ। बैठकले केन्द्रीय समिति पदाधिकारी मनोनयन गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए ।

यस्तै बैठकमा पहिलो महाधिवेशन कार्यविधि मसौदाबारे छलफल हुने झाको भनाइ छ । यसैबीच रास्वपाले विधान संशोधन गर्न लागेको छ । त्यसबारे पनि केन्द्रीय समितिले तय गर्ने रास्वपाले बताएको छ । रास्वपामा वरिष्ठ नेता राखिएको भए पनि विधानमा व्यवस्था छैन। बालेन शाहको समूह रास्वपामा समाहित हुँदा उनलाई वरिष्ठ नेता दिइएको थियो ।

त्यस्तै आजकै बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वानबारे पनि छलफल हुनेछ । सातौं कार्यसूचीमा प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने व्यवस्थाबारे पनि छलफल हुनेछ । त्यसको कानुनी प्रबन्धबारे छलफल हुने उनको भनाइ छ ।

यस्तै सचिवालयका निर्णय अनुमोद गर्ने, विविध कार्यसूचीअन्तर्गत विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचारबारे छलफल हुनेछ । विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे पनि छलफल हुनेछ।

केन्द्रीय समिति बैठकले संसदीय दलको विधान संशोधन गर्नेछ । संसदीय दल विधानमा एक मात्रै सचेतक रहने प्रबन्ध भएकामा अहिले दुईजनाको व्यवस्था गरिएको छ। सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । त्यसको कार्यविधि पनि आजको बैठकले तय गर्नेछ ।