इजरायल र लेबनानबीच युद्धविरामको अवधि थपिए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ ।इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतक र घाइते सबै सर्वसाधारण रहेको जनाइएको छ।
इजरायल रक्षा बलले दक्षिणी लेबनानका यातेर र कफरा क्षेत्रमा हिजबुल्लाहका रकेट प्रक्षेपणस्थललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। ती स्थान आफ्ना सैनिक र नागरिकका लागि प्रत्यक्ष खतरा बनेको दाबी इजरायलले गरेको छ।
यता, हिजबुल्लाहले पनि जवाफी कारबाही स्वरूप दक्षिणी लेबनानको रम्याह क्षेत्रमा इजरायली बख्तरबन्द सवारीलाई निशाना बनाएको दाबी गरेको छ।
युद्धविराम औपचारिक रूपमा कायम रहे पनि दुवै पक्षबीच सैन्य गतिविधि रोकिएको छैन। पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव अझ चर्किने संकेत देखिएको छ।
















