चालू आर्थिक वर्षको ९ महिनामा १३ बैंकले नाफा बढाएका छन्। तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार ७ वटाको नाफामा भने संकुचन आएको देखिएको हो।
चैतसम्म वाणिज्य बैंकहरूको कुल नाफा ४६ अर्ब ४४ करोड ९९ लाख ५५ हजार २३४ रुपैयाँ पुगेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९९ प्रतिशतको वृद्धि हो। यसले समग्र बैंकिङ क्षेत्रको मुनाफामा सुधार भइरहेको संकेत गर्दछ।
यो अवधिमा कुमारी बैंकले आश्चर्यजनक सुधार गरेको छ। विवरणअनुसार यसको नाफा १३६१.८६ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी हिमालयन बैंक (५२.४९%), माछापुच्छ्रे बैंक (५०.४३%) र सानिमा बैंक (४२.२२%)ले पनि उल्लेख्य सुधार गरेका छन्। तर सातवटा बैंकको भने मुनाफा घटेको देखिएको छ।
जसअनुसार प्रभु बैंकको नाफामा सबैभन्दा बढी ५४.६१ प्रतिशतको गिरावट आएको छ। यसबाहेक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ३०.६९ प्रतिशतले घटेको छ। यता, कृषि विकास बैंकको २४.४२ प्रतिशत र एनआईसी एसिया बैंकको नाफामा १०.४७ प्रतिशतको गिरावट आएको छ।
धेरै नाफा गर्ने नबिल
नबिल बैंकले रकमका आधारमा सबैभन्दा धेरै अर्थात् ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ। उच्च मुनाफा गर्नेमा नबिल बैंक पहिलो स्थानमा कायमै छ। यसको नाफामा ३३.९२ प्रतिशतको वृद्धि भएको हो।
दोस्रो धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। उसले ४ अर्ब ४० करोड १९ लाख ७८ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। यद्यपि यो नाफा यसअघिको तुलनामा २.९३ प्रतिशतले कम हो।
तथ्याङ्क अनुसार २० वटा बैंकहरूमध्ये १३ वटाको बढ्दा ७ वटाको नाफा घटेको छ। यसले बैंकिङ क्षेत्रमा व्यावसायिक प्रदर्शन एकनासको नरहेको र बैंकहरूबीच तीव्र प्रतिस्पर्धा रहेको देखाउँछ।
















