निजी क्षेत्रलाई विश्वासमै लिएर आर्थिक विकास गर्नेतर्फ प्रतिबद्ध छौँ :अर्थमन्त्री

Image

अर्थमन्त्री स्वर्णिम वाग्लेले जनताको विश्वास जित्ने गरी आर्थिक विकास गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । बाह्रखरी मिडियाले शनिबार काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा उनले भारी बहुमतपछि जनताको विश्वास जित्नुपर्ने जिम्मेवारी सरकारमा आएको भन्दै रोजगारी सिर्जना र आर्थिक विकासतर्फ मुलुकलाई डोर्‍याउने गरी काम गरिरहेको बताए ।

“यो समय आर्थिक राजगाजको जहाजलाई हाँक्ने समय हो । हामीले मिहिनेत, विश्वास र सतर्कता साथ काम गर्‍यौँ भने मुलुकको आर्थिक अवस्थालाई सुन्दर स्थितिमा पुर्‍याउन सक्छौँ । अहिलेको बजेट लेखनमा त्यसको प्रयास भइरहेको छ,’’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक विकास गर्नेमा प्रतिबद्ध रहेको बताए । “हामी निजी क्षेत्रलाई विश्वासमै लिएर आर्थिक विकास गर्नेतर्फ प्रतिबद्ध छौँ । हामी व्यवसायीहरूको सुरक्षामा पनि उत्तिकै इमानदार छौँ । इमानदारिताका साथ व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध छ ।”