चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा सात अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मूल्यबराबरको ८३ हजार ४ सय ४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख रुपैयाँ मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ मूल्यबराबरको पाँच हजार ९ सय ८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए ।












