जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।
केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ ।
उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल चार हजारका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए । उनका अनुसार गत आवमा चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।












