चितवनमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

Image

चितवनको इच्छाकामना गाउँपालिका–१, कुलबाङमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर अवस्थामा उपचाररत छन् ।

जंगली च्याउ सेवनका कारण ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल का अनुसार नमुनाको मृत्यु जेठ १ गते भएको हो भने सञ्जयको उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए ।

तीमध्ये तीन जनालाई उपचारका लागि जेठ १ गते भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो भने १३ वर्षीया मनिता चेपाङको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी मनिताको अवस्था गम्भीर रहेको छ । घटनापछि स्थानीय क्षेत्रमा जंगली च्याउ सेवनप्रति सतर्कता अपनाउन आग्रह गरिएको छ ।