राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार राति भर्चुअल माध्यमबाट सचिवालय बैठक आह्वान गरेका हुन्।पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आइतबार राति ८ बजे बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका गतिविधि तथा संगठनात्मक विषयमा विस्तृत छलफल हुने जनाइएको छ। साथै अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ।त्यस्तै, अनुशासनात्मक कारबाहीसम्बन्धी विषय, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गत गठन गरिने उपसमितिहरू, महाधिवेशन निर्वाचन कार्यविधि तथा विधान संशोधनका प्रस्तावमाथि समेत छलफल हुने एजेन्डा तय गरिएको छ।
रास्वपाले संघीय सांसदहरूको पार्टी जिम्मेवारी निर्धारणलगायतका विषयमा पनि बैठकमा निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ।पार्टीको संगठन विस्तार, महाधिवेशनको तयारी तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समेटिएकाले सचिवालय बैठकलाई रास्वपाका लागि महत्त्वपूर्ण मानिएको छ।
















