संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बोलाइएको छ।आजको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसपछि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा सामान्य छलफल सुरु हुने कार्यसूची छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। बजेटमाथिको छलफलमा विभिन्न दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनका विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जारी विपक्षी दलहरूको विरोधका कारण पछिल्ला केही दिनदेखि संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ। आजको बैठक अवरोधरहित रूपमा सञ्चालन हुने वा नहुने विषयलाई समेत चासोका साथ हेरिएको छ।
















