वीरगन्ज महानगरका मेयर राजेशमान सिंह अदालतमा उपस्थित, प्रहरीले सात दिन म्याद माग्यो

Image

नागरिकता लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लाई प्रहरीले म्याद थपका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराएको छ।मंगलबार बिहान पक्राउ परेका सिंहलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै अदालतमा पेस गरिएको पर्सा प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

“अहिले म्याद थपका लागि अदालतमा पेस गरेका छौँ। अदालतबाट अनुमति आउन बाँकी छ। हामीले सात दिनको म्याद मागेका छौँ,” डीएसपी बस्नेतले भने।प्रहरीले सिंहलाई पर्साकै ठोरी क्षेत्रबाट पक्राउ गरेको हो। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले यही जेठ १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

उक्त मुद्दामा सिंहकी कान्छी श्रीमती रीता भट्टराई र वीरगन्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।वीरगन्ज–३ निवासी लियाकत अली ले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीका अनुसार सिंहविरुद्ध दर्ता भएका चारवटा मुद्दामध्ये अदालतले लिखतसम्बन्धी कसुरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। अब अदालतबाट म्याद स्वीकृत भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउनेछ।