पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। आगामी भदौ ७ गतेदेखि फ्लाइ दुबईले पोखरा–दुबई सिधा उडान सञ्चालन गर्ने तयारी गरेको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई पोखराबाट नियमित उडान सञ्चालन गर्न अनुमति प्रदान गरेको छ।
फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ विमानमार्फत पोखरा र दुबई अन्तर्राष्ट्रिय विमानस्थलबिच सेवा सञ्चालन गर्नेछ। उडान तालिकाअनुसार विमान साँझ ६ बजेर १५ मिनेटमा पोखरा अवतरण गर्नेछ भने साँझ ७ बजेर १५ मिनेटमा दुबईका लागि प्रस्थान गर्नेछ। यो हवाई यात्रा करिब पाँच घण्टाको हुने प्राधिकरणले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार फ्लाइ दुबईले पहिलो चरणमा एक महिनाका लागि मात्र उडान अनुमति लिएको छ। यस अवधिमा यात्रुको चाप, सेवा सञ्चालनको अवस्था तथा व्यावसायिक सम्भावनाको मूल्याङ्कन गरिनेछ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसँग सिधा हवाई सम्पर्क स्थापना हुन लागेकाले पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारीमा रहेका नेपालीको आवतजावत सहज बनाउने तथा पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।















