कर्मचारी छनोट समयसापेक्ष हुनुपर्नेमा राष्ट्रपतिको जोड

Image

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् । 

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताए । 

उनले जनताको उद्देश्य पूरा गर्न आधुनिक समयमा मुलुकको राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताए । 

राष्ट्रपति पौडेलले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्ने बताए । 

राष्ट्रपति पौडेलले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो रहेकोमा जोड दिए । 

आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनोटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ लोकसेवा आयोगले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ ।