रास्वपा महाधिवेशन आजदेेखि

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (असार ७ मा) चितवनमा सुरु हुँदै छ। भरतपुरको गेस्टहाउस चौरमा आयोजित महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ।

‘रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो। प्रतिनिधि छनोटको काम लगभग सकिएको छ’, प्रवक्ता झाले भने, ‘राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ।’

भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो।

हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन्। उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन्।

अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन। विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन्।

यस्तै १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ। अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन्।

पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ। महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन्। त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ।

रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्‍याएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ। यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन्।