राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूलाई पनि मतदानको व्यवस्था गरेको छ। महाधिवेशनमा सहभागी हुन नसक्ने विदेशस्थित प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट चयन भएका १६३ प्रतिनिधिमध्ये महाधिवेशनस्थलमा उपस्थित हुन नसक्नेहरूले पार्टीको मोबाइल एप प्रयोग गरेर मतदान गर्न सक्नेछन्। यसले विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने विश्वास गरिएको छ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत मतदान गर्नेछन्। मतदान प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउन विद्युतीय प्रणाली अपनाइएको र त्यसका लागि ८० वटा मतदान मेसिनको व्यवस्था गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशनमा देश तथा विदेशबाट हजारौँ प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका साथै पार्टीको भावी राजनीतिक र संगठनात्मक दिशा तय गरिनेछ।













