इजरायलले ड्रोन आक्रमण गर्दा लेबनानमा चार जनाको मृत्यु

Image

इजरायलले युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा आक्रमण गरेको छ । इजरायली ड्रोनले दक्षिणी लेबनानको नबातियेह अल–फाउका सहरमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। लेबनानको सरकारी नेसनल न्युज एजेन्सीका अनुसार मिसाइल आक्रमण एक सवारीसाधनलाई लक्षित गरेर गरिएको थियो।

मृतकमध्ये युसुफ शामौन पब्लिक स्कूलकी प्रधानाध्यापक, उनकी आमा, एक विदेशी घरेलु कामदार र एक सिरियाली नागरिक रहेका छन्। उनीहरू परिवारको घरको अवस्था बुझ्न गएका बेला दार अल–मुअल्लिमिन नजिकै उनीहरू सवार गाडीमा मिसाइल प्रहार भएको जनाइएको छ।

घटनापछि लेबनानी रेडक्रस र सिभिल डिफेन्सका उद्धार टोलीले शवलाई नबातियेहस्थित अस्पतालमा पुर्‍याएका छन्। लेबनान सरकारले गत महिना इजरायलसँग युद्धविराममा सहमति जनाए पनि त्यसयता पनि इजरायलले विभिन्न स्थानमा आक्रमण जारी राखेको बताइएको छ।