अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड डेनमार्कको नभई अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो अडान पुनः दोहोर्याएका छन्।
ग्रीनल्याण्डबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले उक्त टापु अमेरिकी मात्र होइन, अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार आर्कटिक क्षेत्रमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीका कारण ग्रीनल्याण्डको रणनीतिक महत्व झन् बढ्दै गएको छ। ट्रम्पले यसअघि पनि ग्रीनल्याण्डलाई अमेरिकाको नियन्त्रणमा ल्याउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
यही प्रसंगमा ट्रम्पले आवश्यक परे अमेरिका युरोपबाट आफ्ना सबै सैनिक फिर्ता बोलाउन सक्ने संकेत पनि दिएका छन्। यद्यपि उनले यस्तो निर्णय तत्काल हुने वा कुनै निश्चित योजना बनिसकेको भन्ने स्पष्ट पारेका छैनन्। उनको पछिल्लो अभिव्यक्तिले अमेरिका–डेनमार्क सम्बन्ध र नाटो गठबन्धनभित्र नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।
ग्रीनल्याण्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र हो। प्राकृतिक स्रोतसाधन, दुर्लभ खनिज र आर्कटिक क्षेत्रमा यसको रणनीतिक अवस्थाका कारण पछिल्ला वर्षहरूमा यसप्रति विश्व शक्तिहरूको चासो बढ्दै गएको छ। अमेरिकाले त्यहाँ लामो समयदेखि सैन्य उपस्थिति पनि कायम राखेको छ।












