युक्रेनी ड्रोन हमला रोक्न रूसले बनायो इलन मस्कको स्टारलिंक जाम गर्ने प्रणाली

Image

युक्रेनको मध्यम दूरीको ड्रोन हमला रोक्न रूसले इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट प्रणाली नै जाम गर्ने प्रविधि प्रयोग गरेको खुलेको छ। पछिल्लो समय मस्कोले किभबाट भएका ड्रोन हमलाहरू सटिक देखिएपछि त्यसलाई रोक्न स्याटेलाइट इन्टरनेट सेवा नै जाम गर्ने शक्तिशाली प्रणालीको विकास गरेको भनेर युक्रेनी ड्रोन कमाण्डर र पाइलटहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

रूससँग युद्ध सुरू भएपछि मस्कले युक्रेनलाई निःशुल्क रूपमा स्टारलिंकको इन्टरनेट उपलब्ध गराएका थिए। युक्रेनले पछिल्लो समय स्टारलिङ्क इन्टरनेट सेवा मार्फत मध्यम दूरीका ड्रोन प्रयोग गरेर अग्रपङ्क्तिभन्दा दर्जनौं किलोमिटर पछाडिसम्म रहेका रुसी सैन्य लक्ष्यमा सटीक आक्रमण गर्दै आएको भनेर रोयटर्सले लेखेको छ। यी ड्रोनले रसद मार्ग, इन्धन भण्डारण केन्द्र, हवाई प्रतिरक्षा प्रणाली र कमाण्ड सेन्टरमा आक्रमण गरी रुसी सेनाको आपूर्ति प्रणालीमा ठूलो असर पुर्‍याएको तथा कब्जामा रहेको क्राइमियामा इन्धन अभावसमेत सिर्जना गरेको रोयटर्सले जनाएको छ।

तर अहिले रुसले यस्ता ड्रोन रोक्न नयाँ रणनीति अपनाइरहेको युक्रेनको ४२२औं अनम्यान्ड सिस्टम्स रेजिमेन्टका कमाण्डरहरूले बताएका छन्।उनीहरूका अनुसार रुसले सैन्य सामग्री नागरिक सवारीसाधनमा लुकाएर ओसार्ने, साना वैकल्पिक सडक प्रयोग गर्ने तथा स्टारलिङ्कको सिग्नल अवरुद्ध गर्ने शक्तिशाली इलेक्ट्रोनिक जामिङ प्रणाली तैनाथ गर्न थालेको छ।

युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकार सेर्ही बेस्क्रेस्टनोभका अनुसार रुसले ‘भोल्ना कुपोल गारान्ट’ नामक जामिङ प्रणाली प्रयोग गरिरहेको छ।यो प्रणालीले करिब २० वर्ग किलोमिटर क्षेत्रमा स्टारलिङ्कको सिग्नल अस्थिर बनाउन सक्ने क्षमता राख्छ। हालसम्म यस्ता करिब १० वटा प्रणाली पहिचान गरिएको उनले बताए।

युक्रेनी सेनाले भने यी जामिङ प्रणालीलाई नै लक्ष्य बनाएको जनाएको छ। ४२२औ रेजिमेन्टका अनुसार उनीहरूले युक्रेनको सुरक्षा निकाय एसबीयूसँग मिलेर यस्ता दुई प्रणाली नष्ट गरिसकेका छन्। ‘हामीले त्यो जामिङ प्रणाली नष्ट गरेलगत्तै स्टारलिङ्क प्रयोग गर्ने हाम्रा ड्रोन कुनै समस्या बिना उड्न थाले,’ एक ड्रोन कमाण्डरले भने

रोयटर्सका अनुसार मस्कको कम्पनी स्पेसएक्सले रुसी सेनालाई स्टारलिङ्क प्रयोग गर्न भने दिएको छैन। मस्कोले ड्रोन आक्रमणमा आफ्नो इन्टरनेट प्रयोग गर्न नसकोस् भनेर स्पेसएक्सले त्यहाँ इन्टरनेट उपलब्ध नगराएको भनिएको छ।

 अमेरिकास्थित फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता रोब लीका अनुसार युक्रेनको मध्यम दूरीको ड्रोन अभियान यस वर्षको युद्धकै सबैभन्दा महत्वपूर्ण सैन्य विकासमध्ये एक हो।

 तर रुसले जामिङ प्रणालीको उत्पादन बढाउन सफल भए युक्रेनको यो रणनीति कार्यान्वयन गर्न झन् कठिन हुन सक्ने उनले बताएका छन्।

यद्यपि युक्रेनका ड्रोन आक्रमणले रुसी सेनामाथि दबाब बढाए पनि रुसले अझै पनि युक्रेनको करिब पाँच भागको एक भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ भने युक्रेनका सबै ड्रोन आक्रमण सफल भएका छैनन्।

रोयटर्सका अनुसार उनीहरूको अवलोकनका क्रममा इन्धन ट्यांकरलाई लक्षित गरिएको एउटा ड्रोन आक्रमण असफल भएको थियो भने निगरानीका लागि प्रयोग गरिएको अर्को ड्रोन रुसी ‘टोर’ हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो।