भारतको राजधानीमा दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको ‘संसद मार्च’ का सहभागीहरूले भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलन सम्झेका छन्। संसद मार्चमा भएको प्रहरी धरपकडपछि आक्रोशित प्रदर्शनकारीहरूले नेपालमा जस्तै संसद भवन तहसनहस पार्ने चुनौती दिएका छन् ।
‘नीट’ (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमध्ये एक जनाले प्रहरी हस्तक्षेपपछि आक्रोश व्यक्त गर्दै भने, “राजीनामा आएन भने संसद भवन उखाड्दिन्छौं। नेपाल बनाइदिन्छौं, नेपाल।” नेपालको जेनजी आन्दोलनसँग तुलना गरिएको उक्त भिडियो अहिले विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।
सत्ताप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको सिजेपीको विरोध कार्यक्रमलाई सुरुदेखि नै नेपालमा भएको जेनजी आन्दोलनसँग तुलना गरिँदै आएको छ। जेनजी आन्दोलनमा जस्तै सिजेपीका कार्यक्रमहरूमा पनि विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिएको छ।
सोमबार आयोजित संसद मार्चमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएको दाबी गरिएको छ। तीमध्ये अधिकांश विद्यार्थी थिए। संसद भवन वरपर कडा सुरक्षा व्यवस्था गरिएकाले प्रदर्शनकारीहरू संसद परिसरमा पुग्न नसके पनि आन्दोलनका कारण मध्य दिल्लीको जनजीवन प्रभावित भएको बताइएको छ।
जन्तर–मन्तर क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रहरीले भिड नियन्त्रणका लागि लाठीचार्ज र बल प्रयोग गरेको थियो। आइतबारदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रमा सोमबार बिहानै दंगा नियन्त्रणका सवारीसमेत तैनाथ गरिएको थियो।
प्रहरीले जन्तर–मन्तरबाट प्रदर्शनकारीहरूलाई हटाउने प्रयास गरे पनि उनीहरू मध्य दिल्लीका विभिन्न स्थानमा फैलिँदै विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। सिजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै एक महिनाभन्दा बढी समयदेखि आन्दोलन जारी राखेको छ।
यसैबीच, २० दिनभन्दा बढी समयदेखि अनिश्चितकालीन भोक हड्तालमा रहेका सामाजिक अभियन्ता सोनाम वाङचुक ले आफ्नो अनशन अन्त्य गर्न सरकारसमक्ष केही सर्त अघि सारेका छन्। प्रहरी हिरासतपछि उनी हाल सफदरजंग अस्पतालमा राखिएका छन्।
प्रदर्शन चर्किएसँगै सरकारका तर्फबाट वार्ताको पहल पनि सुरु भएको छ। सिजेपीका प्रवक्ताहरूले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डा सँग भेट गरी आफ्ना मागहरू प्रस्तुत गरेका छन्।
सिजेपीले सरकारसमक्ष तीन प्रमुख माग राखेको जनाएको छ। ती मागमा सोनाम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा ‘नीट’ परीक्षा विवाद र त्यससँग सम्बन्धित तनावका कारण ज्यान गुमाएका प्रत्येक परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने उल्लेख गरिएको छ।
Sansad Bhawan Ukhaad dega! Nepal bana diya jayegaa!
— Rattan Dhillon (@ShivrattanDhil1) July 20, 2026
What about the education system? The youth have clearly been stirred up, but here’s a simple question: if something goes wrong today and a young students gets injured, will Abhijeet take responsibility for it? https://t.co/vHYv1FSHpm pic.twitter.com/g6LeoSRbUa















