नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन् ।
शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन् ।
‘जहाँसम्म मलाई लाग्छ, धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला हामी विरोध गर्छौं,’ शशांकले भने । देउवा ५ महिनापछि साउन २६ गते बेलुकी स्वदेश फर्कंदैछन्। उनी उपचारका क्रममा हङकङमा छन् ।
साथै कोइरालालाई हङकङ गएर देउवासँग भेटेर फर्किएको हो भनेर सोधिएकोमा जबाफ दिए, ‘होइन होइन, म गएको छैन ।’ संस्थापनइतरले पछिल्लो समय गरेका कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला देखिएका छैनन् ।
यसबारे शशांकले भने, ‘उहाँहरूको समर्थन छ, पूर्णजीको स्वास्थ्य नराम्रो भएको हुनाले उहाँ आउन सक्नुभएन । शेखर दाइ विराटनगर हुनुहुन्छ, उहाँले घर बनाउँदै हुनुहुन्छ, त्यसमा व्यस्त हुनुहुन्छ । उहाँहरूको पूरा समर्थन छ।’ संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म भेला गर्ने तयारी गरेका छन् ।














