सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए। उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताए।
उनले भने,‘अहिले राज्य सञ्चालन र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मुलमन्त्र आवश्यक छ भनेर हेर्दाखेरी मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुई वटा कुरालाई मुलमन्त्र बनाएर हामीले राज्य सञ्चालनदेखि सबै कुराहरु त्यसमा केन्द्रित गर्यो भने हामी केही हासिल गर्न सक्छौँ।’
नेता झाले आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउन सक्ने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिए।
उनले थपे, ‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। कुनै शंका पनि छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता कता ढंग नपुगेको हो कि जस्तो लाग्छ। र त्यो स्वीकार्नुपर्छ। तपाईंलाई के थाहा छैन भन्नेबारे पनि तपाईलाई थाहा छैन भने साच्चिकै तपाईंलाई केही थाहा छैन। त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ र त्यो कुरा सिक्नुहुन्छ। जुन दिन सोच्नुहुन्छ कि तपाईंलाई सबै कुरा थाहा छ त्यो दिन तपाईं समान हुनुहुन्छ।’
सांसद झाले राज्य सञ्चालका कयौँ कुराहरु सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सरकारले कमजोरी स्वीकारेर अघि बढ्नुपर्ने बताए।













