कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका लागि दिनरात खटिरहेका छन्।
सरकारी तथ्यांकअनुसार भूकम्पमा परी हालसम्म १८१ जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकसमेत जोड्दा मृतकको संख्या २४० भन्दा बढी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पबाट सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको बताइएको छ।
गत सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका धक्का पश्चिमी कोलम्बियाका सयौँ माइल टाढासम्म महसुस गरिएको थियो। मंगलबार पनि भूकम्पपछि आउने परकम्पहरू महसुस भएका थिए।
राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन्। मंगलबार सबैभन्दा बढी प्रभावितमध्ये एक पेरेरा सहर पुगेका उनले भूकम्पमा परी करिब २ हजार ६ सय जना घाइते भएको र झन्डै २ सय जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्।
उनका अनुसार भूकम्पमा १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
भूकम्पपछि सोमबार रातिदेखि मंगलबार बिहानसम्म पेरेरा, कालीलगायतका सहरमा धेरै मानिसले खुला आकाशमुनि रात बिताएका थिए। घर पूर्ण रूपमा ध्वस्त भएका मानिससँगै भवन पुनः भत्किन सक्ने डरका कारण सुरक्षित घरमा समेत प्रवेश नगर्नेहरू खुला स्थानमा बसेका थिए।
उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजीलाई तीव्रता दिइरहेका छन्। बेपत्ताको संख्या अझै ठूलो रहेकाले मृतकको संख्या थप बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।















