प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव भेटिएको छ। स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका विभिन्न स्थानमा ती शव भेटिएको हो।
बिहीबार बिहान साढे ७ बजेतिर स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव भेटिएको थियो।
त्यसपछि स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा डाँडाभन्दा माथिल्लो भाग मात्र रहेको एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव भेटिएको छ।
बिहान साढे ९ बजेतिर स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा अर्को एक महिलाको शव भेटिएको थियो। उक्त शवको टाउको र खप्पर नभएको तथा बायाँ खुट्टाको घुँडादेखि तलको भागसमेत नभएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बिहान १० बजेपछि माण्डवी गाउँपालिका–५ अर्थौसस्थित खोला किनारमा थप एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।
भेटिएका पाँचै शवको सनाखत हुन सकेको छैन।प्रहरीले प्यूठानका विभिन्न खोलामा फेला परेका शवहरू थवाङमा गएको पहिरोपछि आएको बाढीले बगाएर ल्याएको हुनसक्ने आशंका गरेको छ।
डीएसपी अधिकारीका अनुसार प्यूठानमा पछिल्लो समय मानिस हराएको वा बाढीपहिरोमा परेका सम्बन्धी अन्य घटना नरहेकाले शवहरू थवाङ क्षेत्रबाट बाढीले बगाएर ल्याएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको छ।
उनले भने, “थवाङमा पहिरोपछि बाढीले बगाएर ल्याएका मानिस हुन् कि भनेर अनुसन्धान भइरहेको छ। अन्यथा प्यूठानमा मानिस हराएको वा बाढीपहिरोको घटना पनि भएको छैन।”
विभिन्न स्थानमा फेला परेका शवको पहिचान तथा घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।















