इजरायलमा अक्टोबर २७ मा हुने चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हार्ने सम्भावना व्यक्त गरिएको छ। उनलाई देशका पूर्वसेना प्रमुख गादी आइजेनकोटबाट ठुलो चुनौती देखिएको हो।
टाइम्स अफ इजरायलको हिब्रु सिस्टर साइट जमान इसरायलले बिहीबार प्रकाशन गरेको नयाँ सर्वेक्षणमा आइजेनकोटको विपक्षी दल यासरले २५ सिट जित्ने र नेतन्याहुको लिकुड पार्टी २१ सिटमा झर्ने देखिएको हो।
केही हप्तामा गरिएका अन्य धेरैजसो सर्वेक्षणले पनि यासरलाई अगाडि देखाएका छन्, तर अन्तर धेरै कम छ। धेरै सर्वेक्षणमा लिकुड बराबर वा १-२ सिट मात्र पछाडि देखिएको छ। तर नयाँ सर्वेक्षणमा अन्तर चार सिटको फराकिलो अन्तर देखिएको हो।
यद्यपि दुवै दलले बहुमत ल्याउने सम्भावना देखिएको छैन। यासर सबैभन्दा ठुलो दल बने पनि सरकार बनाउन सजिलो हुनेछैन। इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् र बहुमतका लागि कम्तीमा ६१ सिट ल्याउनुपर्छ।
सर्वेक्षणहरूले नेतन्याहू विरोधी दलहरूको ‘चेन्ज न ब्लक’ले ५८ सिट जित्ने भविष्यवाणी गरेका छन्, जसले गर्दा यो गठबन्धनलाई बहुमतका लागि ३ सिट पुग्दैन।
अर्कातर्फ नेतन्याहु समर्थक दलहरूले कुल ५० सिट जित्ने अनुमान गरिएको छ। अरब दलहरूले १२ सिट जित्न सक्छन्। यसमा राम पार्टी र हदस-तालले ६/६ सिट जित्ने अपेक्षा गरिएको छ।
यसको अर्थ कुनै पनि गठबन्धनसँग सरकार बनाउन स्पष्ट बहुमत देखिँदेन।














