पोखरा महानगरपालिका–१४ चाउथेमा विजयपुर खोला तर्ने क्रममा बगेका दुई बालकको खोजी कार्य आइतबार पनि जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार दिउँसो चाउथे भोटे चौताराबाट विजयपुर हुँदै ह्याप्पील्यान्ड जाने बाटोमा खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो।
बेपत्ता हुनेमा पोखरा–१४ छिनेडाँडा निवासी १४ वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथेमा बस्दै आएका १५ वर्षीय ओमन राई रहेका छन्।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुँडहरबाट प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा गोताखोरसहित नौ सदस्यीय विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन भएको थियो।
सशस्त्र प्रहरीका अनुसार टोलीले घटनास्थलदेखि करिब दुई किलोमिटर क्षेत्रसम्म खोला किनारा तथा सम्भावित स्थानमा खोजी गरे पनि दुवै बालक फेला परेका थिएनन्।
दुवै बालकको अवस्था अझै अज्ञात रहेपछि आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा ११ सदस्यीय टोली परिचालन गरिएको छ।
गोताखोर र रोप रेस्क्यूसहित आवश्यक विपद् उद्धार सामग्री लिएर टोलीले खोजतलास गरिरहेको कास्कीका सहायक सिडिओ चित्राङ्गत बरालले जानकारी दिए।














