बागमतीका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिँदै

Image

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन्। यसका लागि बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री थापालाई गरिएको समर्थनका विषयमा राप्रपाभित्र भने विवाद देखिएको छ। यसैबीच, नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले आवश्यक बहुमतसहित विश्वासको मत पाउने वा नपाउने भन्ने विषय चासोका साथ हेरिएको छ।