बाढीले पुरिएको ६० घण्टापछि उद्धार गरिएकी बालिकाको आमाबुबासँग पुनर्मिलन

Image

रसुवाको विनाशकारी बाढीमा घरसँगै पुरिएकी पाँच वर्षीया मनिषा उचा मगरलाई ६० घण्टापछि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। टिमुरे बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ भत्किएको घरभित्र पुरिएको अवस्थामा मनिषाको उद्धार गरेको थियो। उद्धारपछि उनलाई केही समय बीओपीमै राखियो। शनिबार जिल्ला अस्पताल धुन्चे लगिए पनि करिब १२ घण्टासम्म उनको पहिचान खुलेन।

धुन्चे अस्पतालमा उपचारका क्रममा प्रभु बैंक टिमुरे शाखाका कर्मचारी दावा तामाङले मनिषालाई चिने। उनले मनिषा आफ्नै कार्यालयमा काम गर्ने गीता उचा मगरकी छोरी भएको पत्ता लगाएपछि गीतालाई फोन गरेर छोरी जीवितै भेटिएको खबर सुनाए। तर तीन दिनसम्म छोरीको कुनै अत्तोपत्तो नलागेपछि आशा मारिसकेकी गीताले सुरुमा त्यो खबर पत्याइनन्। दावाले मनिषाको फोटो पठाएपछि मात्रै उनी आफ्नै छोरी भएकोमा विश्वस्त भइन्।

शनिबार रसुवाबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकी मनिषाका बुबा लोकबहादुर र आमा गीता उचा मगरले छोरी जीवितै भेटिएको खबर सुन्दा सुरुमा पत्याउनै सकेनन्। ‘दावा सरले फोन गरेर मनिषा भेटियो भन्नुभयो। तर मलाई विश्वास नै लागेन। फोटो पठाइदिनुभयो। हो रहेछ, हाम्रै नानी रहिछ,’ गीताले भनिन्।

मनिषा लोकबहादुर र गीताकी कान्छी छोरी हुन्। बाढीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको देखेपछि उनीहरूले छोरी जीवित भेटिने आशा लगभग मारिसकेका थिए। ‘जीवित त के, चिनो नै भेटिँदैन भनेर हामी त अर्घाखाँची हिँडेका हौँ,’ शनिबार राति त्रिवि शिक्षण अस्पतालमा छोरीको कुरुवा बसेकी गीताले भनिन्, ‘नानी यहीँ आँखा अगाडि छे। तर मलाई अहिले पनि भेटिएकै हो र जस्तो लाग्छ घरीघरी। सपना जस्तो भइराछ।’

भदौ १० गते बाढी आएपछि भागेर ज्यान जोगाएका लोकबहादुर र गीतालाई नेपाली सेनाको हेलिकप्टरले भदौ ११ गते उद्धार गरेर त्रिशूली पुर्‍याएको थियो। उनीहरूले त्यहाँ घाइते तथा भेटिएका शवबारे खोजी गरे। अस्पतालमा राखिएका शवको विवरण र फोटोसमेत हेरे। तर मनिषाको कुनै जानकारी पाएनन्।

भदौ ११ र १२ गते त्रिशूलीमा बसेर छोरीको खोजी गर्दा पनि केही पत्ता नलागेपछि उनीहरूले अब छोरी जीवित नरहेको निष्कर्ष निकाले। त्यसपछि दम्पतीले काठमाडौं हुँदै आफ्नो पुरानो थातथलो अर्घाखाँची फर्किने निर्णय गरे। उनीहरूको घर अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ मा हो।काठमाडौं आएपछि उनीहरू भिनाजूको डेरामा बसेका थिए। केही दिनपछि अर्घाखाँची फर्किने तयारीमा रहेका उनीहरूलाई शनिबार बिहान त्रिवि शिक्षण अस्पतालमा छोरी ल्याउन लागिएको खबर आयो।

दिउँसो करिब १ बजे लोकबहादुर र गीता भिनाजूसँगै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे। केहीबेरपछि प्रहरीले एम्बुलेन्सबाट मनिषालाई बाहिर निकाल्यो। आमा–बुबाले नजिक पुगेर ‘नानी, नानी’ भन्दै बोलाए। मनिषा बोल्न सकिनन्। तर आमा–बुबालाई देख्नेबित्तिकै उनको आँखाबाट आँसु बग्न थाल्यो।बाढीमा घरसँगै पुरिएर ६० घण्टासम्म बेपत्ता भएकी मनिषाको शिक्षण अस्पतालको आकस्मिक कक्षअन्तर्गत रेड जोनको बेड नम्बर ३१ मा उपचार भइरहेको छ।