रसुवागढी–चिलिमे आयोजनामा फसेका व्यक्ति सुरक्षित रहेको आशा बलियो भयो: कुलमान घिसिङ

Image

भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका २ जनाको १० दिनपछि आज भदौ १९ शुक्रबार उद्धार गरिएको छ।

उद्धार टोलीको अथक प्रयासपछि सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई आज बिहान उद्धार गरिएको हो। 

यसबाट अति खुसी हुँदै पूर्वऊर्जामन्त्री कुलमान घिसिङले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्र तथा माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्ति पनि सकुशल रहेको आशा थप बलियो बनेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत्‌गृहको भूमिगत विद्युत्‌गृहमा फस्नुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जीवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ। यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्‌गृह तथा माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ।’

उनले अगाडि लेखेका छन्, ‘तसर्थ रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु। उद्धार कार्यमा हाम्रो विज्ञता, प्राविधिक क्षमता र साधन-स्रोतअनुसारको हरसम्भव सहयोग भइरहेको छ र निरन्तर रहनेछ। उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै-धेरै धन्यवाद।’