जनता फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस्, सबै जिम्मेवार बनौं : पूर्वप्रधानमन्त्री सुशीला कार्की

Image

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् । जेनजी आन्दोलन एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।

कार्कीका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको अपेक्षा छ ।

जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्ने उनको सुझाव छ ।

२३ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् ।

उनले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित नवयुवाहरूले सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा उक्त आवाज दबाउने नाममा निर्दोष युवाहरूको ज्यान गएको र कैयौँ युवा जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको उल्लेख गरेकी छन् ।

कार्कीले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै राष्ट्रको जीवनमा लागेको उक्त घाउ सायदै कहिल्यै पुरिने उल्लेख गरेकी छन् ।

उनले अब सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक अहिले भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को यस दुःखद घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आह्वान गरेकी छन् ।

उनले भनेकी छन्, ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ ।’