राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले कोरेको मार्गबाट एक इन्च पनि विचलित नहुने संकल्प गरेका छन् । मंगलबार (भदौ २३) जेनजी आन्दोलनको एक वर्षमा वक्तव्य जारी गर्दै रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गर्न आह्वान गरेका हुन् ।
“जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ संकल्प व्यक्त गर्दछु,” जारी विज्ञप्तिमा भनिएको छ ।
आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिन आग्रह गरेका छन् । “नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,” लामिछानेले भनेका छन् ।
उनले स्वतःस्फूर्त भएको आन्दोलनको कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने उल्लेख गरेका छन् । “हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र, यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,” विज्ञप्तिमा उल्लेख छ ।














