मलेसियामा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र ओमान भिड्ने भएका छन्।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो। हारका बाबजुद पनि नेपाल समूह विजेताको रूपमा सेमिफाइनल खेल्ने भएको हो। नेपाल समूह ए को विजेता र ओमान समूह बी को उपविजेताको रूपमा सेमिफाइनल खेल्न लागेका हुन्। सेमिफाइनल खेल पर्सि बिहीबार हुनेछ।
समूह चरणमा नेपाल र हङकङले समान एक खेलमा हार भोगे। समान ३ खेलमा जित र १ खेलमा हार भोग्दै नेपाल र हङकङले समान ६ अंक जोडे। समान ६ अंक भए पनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्ने भएका हुन्। नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भयो। पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले हराएको थियो। लिगको दोस्रो सेमिफाइनलमा हङकङले यूएईको सामना गर्नेछ। हङकङ समूह ए को उपविजेता र यूएई समूह बी को विजेताको रूपमा सेमिफाइनल खेल्नेछन्।
प्रिमियर लिगको विजेता टोलीले २०२७ मा हुने एसिया कपमा स्थान पक्का गर्नेछ।














