कृष्णभीर पहिरोले बुलेट रोकिएपछि विभिन्न जिल्लाबाट ५३ हजार सिलिन्डर ग्यास काठमाडौँ ल्याइयो

Image

कृष्णभीरमा पहिरोका कारण एलपी ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर ग्यास भरेर काठमाडौँ ल्याइयोको छ।

उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवनसहित विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास सिलिन्डर भरेर बुधबार काठमाडौँ पठाइएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।

सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीका अनुसार नारायणीस्थित नेपाल ग्यास उद्योगबाट विभिन्न कम्पनीका ४ हजार ५४३ सिलिन्डर भरेर पठाइएको छ। त्यसमध्ये एचपीका १ हजार २१३, नेपाल ग्यासका १ हजार ६७८, गीताका १४० र सागरका १ हजार ५१२ सिलिन्डर छन्।

त्यस्तै, धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर उद्योगका ५ हजार ६१८ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ।

बारास्थित ग्यास उद्योगबाट पनि ठूलो परिमाणमा सिलिन्डर भरेर उपत्यका पठाइएको छ। ग्यास वन (एनएल) उद्योगबाट सीताश्री उद्योगका १ हजार ६०९, जगदम्बा ग्यास उद्योगबाट मेट्रो एसटिसी र सूर्य उद्योगका २ हजार १२१, लियो ग्यास उद्योगबाट उग्रचण्डी र श्रीमायाका ३ हजार १८१ तथा अम्बर ग्यास उद्योगबाट सिद्धार्थ र मेट्रो एसटिसीका १ हजार ९२ सिलिन्डर पठाइएको कालाखेतीले जानकारी दिए।

पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमाल कम्पनीका ६६३ सिलिन्डर र मनोज ग्यास उद्योगबाट उग्रचण्डी तथा मेट्रो एसटिसीका १ हजार ३७ सिलिन्डर काठमाडौँ पठाइएको छ।

त्यस्तै, मकवानपुरस्थित सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका ७ हजार ८७७ सिलिन्डर तथा चितवनको नेपाल ग्यास उद्योग, गण्डकीबाट एपी, नेपाल ग्यास र गीता उद्योगका ७ हजार ३४८ सिलिन्डर भरेर उपत्यका पठाइएको छ।

चितवनकै साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा उद्योगका ५ हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका ८ हजार ७१६ सिलिन्डर काठमाडौँ पठाइएको जनाइएको छ।

यसैगरी, नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओम उद्योगका २ हजार ६४२ सिलिन्डर तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगबाट सागर उद्योगका १ हजार ६८५ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ।

कृष्णभीरमा पहिरो गएपछि ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसक्दा उपत्यकामा आपूर्ति प्रभावित हुन सक्ने देखिएपछि वैकल्पिक रूपमा विभिन्न जिल्लाका उद्योगबाटै सिलिन्डर भरेर पठाउन थालिएको हो। यसबाट काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिने प्रयास गरिएको सङ्घले जनाएको छ।