प्रख्यात क्रिकेट खेलाडी डेविट वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।
अस्ट्रेलियन क्रिकेटर वार्नर एनपीएल खेल्न दशैंपछि नेपाल आइपुग्नेछन्। एनपीएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्म सबैभन्दा चर्चित खेलाडी हुन्।
अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र सन् २०२१ मा टी-२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। यस्तै, सन् २०२१ को टी-२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए।
वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी-२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा टी-२० क्रिकेटमा तीन हजार २७७ रन बनाएका छन्। उनको नाममा आठ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय रन रहेको छ।
उनले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा खेलेका थिए। सन् २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३३५ रन बनाएका थिए।
मंगलबार सामाजिक सञ्जालमार्फत वार्नरले काठमान्डुबाट खेल्ने जानकारी दिएका छन्। उनले आफु नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमान्डुको टोलीबाट एनपीएल खेल्ने बताएका छन्। वार्नरले यो समय धेरैका लागि कठिन भए पनि एनपीएलले केही खुशी दिने विश्वास जनाएका छन्।
काठमान्डुले यसअघि श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्वविकेटकिपर केएस भरतलाई अनुबन्धन गरिसकेको छ।














