रास्वपाले तोक्यो सांसदको समूहगत उपस्थिति तालिका

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न समूहगत तालिका निर्धारण गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसद्को छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको जानकारी दिएका छन्।

सूचनाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा बैठकमा उपस्थित हुनुपर्नेछ। त्यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।

तोकिएको समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिइएको छ। यद्यपि, अन्य समूहका सांसदलाई संसद् बैठकमा आउन अनिवार्य छैन भन्ने अर्थ नलिन रास्वपाले स्पष्ट पारेको छ।

विशेष अवस्थाबाहेक संसद् बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी हुने सूचनामा उल्लेख छ। बैठक अवधिमा संसदीय छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि सांसदहरूले पालैपालो समय व्यवस्थापन गर्नुपर्नेछ।

त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसदको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपा संसदीय दलले जनाएको छ।