नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो।
अधिवेशनबाट व्यास नगर सभापतिमा तुल्सीराम सापकोटा, भिमाद नगर सभापतिमा अर्विन श्रेष्ठ, भानु नगर सभापतिमा राजन श्रेष्ठ, शुक्लागण्डकी नगर सभापतिमा कृष्णप्रसाद रेग्मी, घिरिङ गाउँ सभापतिमा सुमन थापामगर, ऋषिङ गाउँ सभापतिमा याम सारुमगर, आँबुखैरेनी गाउँ सभापतिमा सोम दर्लामी र बन्दीपुर गाउँ सभापतिमा पर्शुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, म्याग्दे गाउँ सभापतिमा मतदानमार्फत नरसिंह राना विजयी भएका छन् भने देवघाट गाउँ सभापतिमा अर्जुन अधिकारी निर्वाचित भएका छन्। यससँगै जिल्लाका सबै १० पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ।
यसैबीच, वडा अधिवेशनमा भने महिला नेतृत्वको उपस्थिति शून्य देखिएको छ। जिल्लाका १० स्थानीय तहका ८५ वटै वडामा पुरुष सभापति मात्रै चयन भएका छन्।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार व्यास नगरपालिकाका १४, शुक्लागण्डकीका १२, भिमादका ९, भानुका १३, देवघाटका ५, आँबुखैरेनीका ६, ऋषिङका ८, घिरिङका ५, म्याग्देका ७ र बन्दीपुरका ६ वडामा सभापति चयन भएका छन्।
वडा तहलाई पार्टी संगठनको महत्वपूर्ण आधार मानिए पनि ८५ वटै वडाको सभापतिमा महिला चयन नहुनुले कांग्रेसको स्थानीय संगठनको नेतृत्वमा महिला सहभागिताको अवस्था कमजोर रहेको देखाएको छ।











