महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्काएको छ।
बिहीबार बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पुलको एउटा पिलर भत्किएपछि पुलको संरचना नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। पुलको भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ।
‘मैले पनि प्रमुख जिल्ला अधिकारीबाट झोलुङ्गे पुलमा पुगेको क्षतिबारे जानकारी पाएँ। जानकारी पाउनेबित्तिकै प्राविधिक टोली जाने तयारी भइरहेको छ,’ जोशीले भने, ‘प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि मात्रै क्षतिको यकिन हुन्छ।’
उनका अनुसार नटबोल्ट लगायतका प्राविधिक कारणले पुलको स्पार्म खसेको पुष्टि भएमा तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने सम्भावना छ।
बिहानै पुलको एक भाग अस्वाभाविक रूपमा उठेको थियो
२०६१ सालमा निर्माण सम्पन्न भएको उक्त झोलुङ्गे पुलको एक भाग बिहीबार बिहानै अस्वाभाविक रूपमा माथि उठेको स्थानीयले देखेका थिए।
महाकाली अनलाइनका प्रबन्धक खडक रावलका अनुसार बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने स्थानीयले पुलको एक भाग माथि उठेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
तर करिब ८ बजेतिर माथि उठेको उक्त भाग नदीमा खसेको रावलले बताए।
पुलको बीच भाग भत्किएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको पैदल तथा स्थानीय आवागमन प्रभावित भएको छ। अब यात्रुले करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलमार्फत आवतजावत गर्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्।
प्राविधिक टोलीको अध्ययनपछि पुल भत्किनुको वास्तविक कारण र क्षतिको विस्तृत विवरण खुल्नेछ।














