सुनसरी प्रहरीले इनरुवा नगरपालिका–३, सखुवागाछी चेकपोस्टबाट २५ सय ६६ किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना७ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एवं एसपी पुष्पराज मल्लले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको बताए ।
नियन्त्रणमा लिइएकामा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई छन् । गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरुवासम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालोनजिक पुग्ने लक्ष्यसहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताए । थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।














