बडादशैं : टीका लगाउँदा को कता फर्कने?

Image

नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।

टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।

दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।

रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाले टीका लगाइदिँदा तलको आशीर्वाद दिने चलन छ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस्।

महिलाका लागि भनेर यस्तो आशीर्वाद दिने चलन पनि छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ।