नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको आजको पहिलो खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुर दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ। यता, काठमान्डु गोर्खाज भने यस सिजनको पहिलो खेलमै जित हासिल गर्दै सुखद सुरुवात गर्ने योजनामा छ।
जनकपुरले पहिलो खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा १९ रनको हार बेहोरेको थियो। उक्त खेलमा ब्याटिङ अपेक्षाअनुसार हुन नसकेपछि टोलीले आफ्नो प्रदर्शन सुधार गर्नुपर्ने देखिएको छ। कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गर्दै आगामी खेलमा सुधार गर्ने बताएका थिए।
यता, काठमान्डु गोर्खाजले यस सिजनका लागि अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडीलाई अनुबन्ध गरेको छ। यद्यपि, वार्नर नेपाल आइपुगेका छैनन्। त्यसैले आजको खेलमा काठमान्डुको ब्याटिङ संयोजन र विदेशी खेलाडीको प्रदर्शनलाई चासोका साथ हेरिएको छ।
यसैबीच, आजदेखि मौसम बदली भई वर्षा हुने सम्भावना रहेकाले खेलमा मौसमको प्रभाव पर्न सक्ने देखिएको छ। वर्षा भएमा खेल प्रभावित हुन सक्ने भएकाले दुवै टोलीका लागि मौसम पनि चुनौती बन्न सक्छ।














