छोटो भिडियो सेयरिङका लागि लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म)को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।
नियम उल्लंघन गर्ने सामग्री र एकाउन्टमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
नेपालमा उच्च दरमा अटोमेटेड कारबाही प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालबाट प्रकाशित भएकामध्ये २० लाख ३६ हजार १९१ वटा भिडियो नियम उल्लंघनका कारण हटाइएका छन् । यो नेपालमा सो अवधिमा अपलोड गरिएका कुल सामग्रीको ०.४ प्रतिशत हो । नेपालमा नियम उल्लंघन गर्ने सामग्री पहिचान र कारबाहीको दर उच्च देखिएको छ ।
टिकटकले ९९.५ प्रतिशत भिडियोहरू प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी (रिपोर्ट) गर्नुअघि नै प्रणालीले पहिचान गरी हटाएको छ । यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएका छन् ।
कम्पनीको आन्तरिक पुनरवलोकन तथा प्रयोगकर्ताको अपिलपश्चात् ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनर्स्थापना (रजिस्टोर) गरिएको छ ।
यस अवधिमा टिकटकले विश्वभरबाट कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका भिडियोको करिब ०.५ प्रतिशत हो ।
नक्कली एकाउन्ट र उमेर ढाँट्नेमाथि कारबाही
प्लेटफर्मको विश्वसनीयता जोगाउन टिकटकले एकाउन्ट र कमेन्टको स्तरमा पनि ठूलो परिमाणमा कारबाही चलाएको छ । जसमा फेक (नक्कली) एकाउन्ट १४ करोड ६८ लाख ७ हजार ४०० भन्दा बढी, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ एकाउन्ट बन्द गरिएका छन् । गाइडलाइन्स उल्लंघन गरी अमर्यादित कमेन्ट गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टहरू हटाइएका छन् ।
लाइभ स्ट्रिमिङमा कडाइ
टिकटकको लाइभ फिचरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणालीलाई थप कडा पारिएको छ । प्रकाशित कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत सामग्री निलम्बन गरिएको छ ।
यसैक्रममा टिकटकले सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिएको छ वा उनीहरूको मनिटाइजेसन (आम्दानी गर्ने सुविधा) हटाएको छ । समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।















