टीका शाहको अलराउन्ड प्रदर्शनमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा जारी बेल्ट एन्ड रोड सिरिजमा चौथो जित दर्ता गरेको छ ।
नेपालले शनिबार घरेलु टोली चीनलाई ८४ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमै समेटिएको थियो ।
चीनका युफी सनले सर्वाधिक २८ रनको योगदान गरिन् ।
चीनलाई सस्तैमा समेट्न टीकासँगै रचना चौधरी र मनीषा उपाध्यायले तीन–तीन विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो ।
नेपालकी टीकाले अविजित ४३ रनको योगदान गरिन् । यसैगरी, कप्तान सोनी पाख्रिनले ३१ र सावित्री धामीले २४ रन बनाए ।
चीनका सुतिङ याङ्ग र छुङजिन वाङले दुई–दुई विकेट लिए ।
यसअघि थाइल्यान्डलाई दुवै खेलमा हराएको नेपालले हङकङविरुद्ध पनि जित निकालेको थियो । चीनविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
अब नेपालले आफ्नो अन्तिम खेलमा आइतबार हङकङको सामना गर्नेछ ।












