रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

Image

रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार रहेका जाभोरोत्नीले कार चलाइरहेका बेला शुक्रबार बिहान विस्फोट भएको हो।

युक्रेनका पूर्वप्रधानमन्त्री अजारोभले रुसी टेलिभिजनलाई बताएअनुसार अस्पतालमा उनको अवस्था ‘निकै गम्भीर’ छ। सेन्ट पिटर्सबर्गमा रुसी कर्णेलको मृत्यु हुनेगरी भएको आक्रमणको भोलिपल्टै यो कार बम विस्फोट भएको हो।

७२ वर्षीय जाभोरोत्नीले किएभमा माइकोला अजारोभ प्रधानमन्त्री रहँदा सन् २०१४ सम्म प्रेस सहयोगीका रूपमा काम गरेका थिए। तर क्रेमलिन समर्थक युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्युत भएपछि अजारोभ किएभ छाडेर रुस भागेका थिए र उनले निर्वासनमा सरकार गठन गर्ने असफल प्रयास गरेका थिए।

अजारोभले २०१४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएर युक्रेनबाट रुस फर्किंदासम्म जाभोरोत्नीले उनको सहयोगीका रूपमा काम गरेका थिए। रुसको अनुसन्धान समितिले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी कार चलाइरहेका बेला विस्फोट हुँदा उनी घाइते भएका छन्। उनी सहरको अस्पतालमा उपचाररत छन्।’

समितिले यस विषयमा अनुसन्धान अगाडि बढाइएको उल्लेख गरेको छ। रुसबाट प्राप्त रिपोर्टमा जाभोरोत्नीलाई देब्रे हात काटिएको, टाउकोमा चोट लागेको र करङ र दाहिने खुट्टा भाँचिएको दाबी गरिएको छ। रुसले यो कार बम विस्फोट क्रेमलिन समर्थक व्यक्ति-लक्षित आक्रमणकै शृंखला भएको बताएको छ।